एजेन्सी, २३ चैत । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।
भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या १ लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ ।
साथै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, दिल्लीलगायतका राज्यमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ ।
महाराष्ट्र सरकारले आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको छ । यसअघि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण फैलने क्रम नरोकिए लकडाउन गर्ने चेतावनी दिएका थिए ।
संक्रमण बढेपछि उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ ।




