काठमाडौं, २० माघ । नेकपाका सांसदले तिर्दै आएको दुई थरीका लेबीले एकरुपता पाएको छ । यो भन्दा अगाडि नकपाका सांसदले मासिक १३ हजार रुपैयाँ र १२ हजार रुपैयाँ बझाउँदै आएको थियो ।
पूर्वएमालेतर्फका सांसदले मासिक १३ हजार रुपैयाँ र पूर्वमाओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ लेबी बझाउँदै आएका थिए । बुधबारदेखि आइतबारसम्म काठमाडौंमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीको विषयमा प्रश्न उठेपछि यसबारे नेकपा सचिवालयमा छलफल भयो ।
सचिवालयको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेपछि सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई जानकारी दिएका छन् ।

अब पूर्वएमालेका सांसदहरुको लेबी पनि मासिकरुमा १२ हजार नै कायम भएको छ । त्यसैगरी नेकपाका सदस्यले मासिक ५० रुपैयाँ आएको सदस्यता शुल्क पनि घटाउन प्रस्ताव राखिएको छ । यस विषयमा भने निर्णय लिइसकेको छैन ।




