एजेन्सी, २० चैत। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २४ घण्टामा थप ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पहिलो २४ घण्टामा ७२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका थिए । यस अवधिमा ४६९ संक्रमितको मृत्यु भएको जनाएको छ ।
भारतमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख १४ हजार नाघेको छ ।
अहिलेसम्म कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड १५ लाख नाघेको छ । त्यस्तै गरी मृत्यु हुनेको संख्या १ लाख ६३ हजारभन्दा धेरै पुगेको छ ।
कोरोना संक्रमण नियन्त्रणको लागि भारतका विभिन्न राज्यले सामाजिक गतिविधिमा प्रतिबन्धको निर्णय गरेका छन् । तर, संक्रमणमा भने कमी आएको छैन । विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड नमान्दा संक्रमण बढ्दो क्रममा रहेको बताएका छन् ।
बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतले कोरोना खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना खोप दिन थालेको छ । अहिलेसम्म भारतमा ६ करोड ८७ लाख मानिसले कोरोना खोप पाइसकेका छन् ।




