काठमाडौँ, १३ चैत । उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ ।

अघिल्लो वर्ष जसरी नै सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबिच छलफल गरेको छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताएका छन् ।
उनका अनुसार सार्वजनिक यातायात क्षेत्रमा शुक्र बारदेखि लागू हुने गरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरू राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन–पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतमा कोरोनाको सङ्क्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्ने सम्भावना देखिएकाले पूर्व सावधानी अपनाउने निर्णय भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना सङ्क्रमणको दोस्रो लहर आउन सक्ने सम्भावना देखिएपछि सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको जनाएको छ ।
शुक्र बारको बैठकले सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।




