काठमाडौँ, १० चैत । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ ।
विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए ।
प्रवक्ता अधिकारीले भने, ‘अब बुधबारदेखि पठओ राइडरले पठओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्, लगाए कारबाही हुन्छ ।’ पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको उनको भनाइ छ ।
राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ ।
पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।
म्यानेजर हमालले भने, ‘बुधबारबाटै लागु हुनेगरी हामीले राइडर प्रोटेक्टिभ गेयर नलगाउन सूचना पठाएका छौं, यसले अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको सुरक्षा पनि हुने अपेक्षा छ ।’
अफलाइन यात्रु बोक्ने प्रचलनले बढ्दा यात्रुको बिमा नहुने र अन्य समस्याहरु बढेर गएको पाइएको पठाओले जनाएको छ ।




