काठमाडौँ २६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै अबको दुई वर्ष निरन्तरता पाउने दाबी गरेका छन्।
संसद भनेको खेल्ने ठाउँ भएको भन्दै अब नयाँ खेल नयाँ सम्मिकरण दलको भित्र र बाहिर बन्ने बताएका छन् ।
खनालले भने, ‘संसद भनेको राजनीतिक खेल खेल्ने मुख्य मञ्च हो। अहिले सरकार हामीसँग छ। यो सरकारले आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ। मेरो शुभकामना छ। नेकपा एमालेको हैसियतले यो सरकार नै दुईवर्ष जानुपर्छ भन्ने ठान्छु। ‘
उनले एकीकृत गरेको पार्टी पनि विभाजित हुँदा दुःख लागे पनि राजनीतिमा जे पनि सम्भव भएको भन्दै अब नयाँ खेलमा आँफूहरु लागेको बताए।
‘हामी त फेरि एमाले भयौँ। दुर्भाग्यको कुरा हो, एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो। जे जे खेलहरुबाट यो विभाजित भएको भए पनि या हाम्रा आफ्ना मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौँ,’ भन्दै खनालले भने, ‘देशका सम्पूर्ण राजनीतिक खेलाडीले खेल खेल्ने ठाउँ संसद हो। अब नयाँ खेलको सुरुवात हुन्छ। नयाँ खेलको परिदृश्य तपाइले विस्तारै देख्दै जानुहुने छ।’




