ताप्लेजुङ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले कुर्सी र टेबल बाँडेका छन् । अदालतको निर्णयपछि मंगलबार अन्तिम बैठक गरेका दुई पार्टीले एकताका बेला संकलन गरे जसरी नै वितरण गरिएको माओवादी केन्द्रका कार्यालय सचिव सुरज ओझाले जानकारी दिए ।
उनका अनुसार छुट्टै कार्यालय राख्ने भएको माओवादी केन्द्रले सोफासेट, तीनवटा दराज, टि टेबल र ५० वटा कुर्सी ल्याउने भएको छ । ‘हामीले पहिला त्यति नै लगेका थियौं, ती जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा ल्याउने भयौं ।’
ओझाले भने, ‘बुधबार देखि नै पार्टी कार्यालय सञ्चालनमा ल्याउँछौं ।’ वीरेन्द्र चोकमा रहेको काजी गुरुङको घरमा कार्यालय राख्ने टुंगो भएको उनले जानकारी दिए । अन्तिम बैठक भावनात्मक भएको पनि उनले बताए । ‘यो बिचमा जति तितोमिठो भयो सबैले सम्मान पूर्वक लियौं भन्दै छुट्यौं ।’
एमालेको भने दुईवटा पार्टी कार्यालय हुने भएको छ । माओवादीलाई बिदाई गरेपछि बलबहादुर साम्सोहाङ नेतृत्वले पुरानै कार्यालयमा एमालेको बोर्ड राख्ने भएको छ भने केपी शर्मा ओली समूहले नियुक्त गरेको भुपेन्द्र थेबे नेतृत्वको समूहले मंगलबार बिहानै बोर्ड राखेको छ ।




