काठमाडौँ, १६ फागुन। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।
उक्त रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्च अदालतमा पुगेका हुन् ।
काठमाडँको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गरेका छन् ।




