काठमाडौँ, ४ फागुन। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवालाई लोकतन्त्रको पाठ पढाएका छन्।
उनले देउवालाई इंगित गर्दै काँग्रेस भित्र लोकतन्त्र भन्नु नै चुनाव भन्ने बुझाई केही नेतामा हुनु दुखद भएको बताएका छन्।
भट्टराईले संसद पुनस्थापना पछि चुनावमा जाँदा काँग्रेसको दुवै हातमा लड्डु हुने पनि बताए। उनले यति राम्रो अफर पनि अस्वीकार गर्नु केपी ओलीको सेटिङमा संलग्न भएर त होइन भन्दै प्रश्न समेत तेर्साएका छन्।
उनले भने, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ। चुनावमा त ढिलोछिटो जानैपर्छ। तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा संविधान धरापमा पर्छ। संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ। किन नबुझेको ? कि सेटिङ नै हो ?’




