काठमाडौँ, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तय गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको छ। यसअघि यो समूहले माघ २८ गते राजधानीमा वृहत विरोध प्रदर्शन गरेको थियो।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन्। दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।
पछिल्ला दिनमा दुवै समूहमा शक्ति प्रदर्शनमा होडबाजी चलेको छ। प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ। आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।




