काठमाडौं, १७ माघ । गृह सचिव प्रेमकुमार राईले पदबाट राजीनामा दिएका छन् । यही माघ २२ गतेबाट अनिवार्य अवकास पाउन लागेका राईले अनिवार्य अवकास पाउनु भन्दा दुई दिन अगाडिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । सचिव राईले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा दिएका छन् ।
‘२२ गतेबाट अनिवार्य अवकासमा जाँदै हुनुहुन्थ्यो, २० गतेबाट लागू हुने गरी उहाँ (सचिव राई) ले राजीनामा दिनु भएको छ’, गृह स्रोतले भन्यो ।
लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन् । गृहसचिव राई आगामी माघ १९ गते आइतबारदेखि विदा बस्ने भएका छन् । माघ २२ गतेबाट नियमित अवकाशमा जाने भएपछि राई विदामा बस्न लागेका हुन् ।
गृह स्रोतका अनुसार गृहसचिव राईको आइतबार ३ बजे मन्त्रालयमा विदाई कार्यक्रम राखिएको छ । राई २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका थिए । राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल तथा सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि माघ २२ गते अवकाश पाउँदै छन् ।

राईको अवकाशसँगै आकर्षक पदको रुपमा लिइएको गृहसचिव बन्न यतिबेला सचिवहरुको दौडधुप चलेको छ । स्रोतका अनुसार सचिव महेश्वर न्यौपाने, केदारबहादुर अधिकारी र सूर्यप्रसाद गौतम र यादव कोइरालाको समेत गृह सचिवको लागि दौडधूप चलिरहेको स्रोतले जानकारी दिएको छ ।
न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यरत छन् भने कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् ।




