काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमा यो जुनीमा सुध्रिने छाँट नभएको बताएका छन्। राजधानीमा आयोजित ‘प्रतिनिधि सभा विघटन : प्रतिगामी कदम’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै माधवकुमार नेपालले ओली सुध्रिने छाँट नदेखिएकाले थप कारबाहीबारे स्थायी कमिटीमा छलफल हुने सक्ने बताए। अहिले उक्त समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।
‘केपी ओली यो जुनीमा सुध्रिने छाँट छैन, अर्को जुनीमा भन्न सकिँदैन। वामदेवले केपी ओलीलाई सुधार्न सकिन्छ, भनेर लाग्नु भएको छ। बालुवा पेलेर तेल निस्किन्न,’ उनले भने।
नेता नेपालले ओली र प्रचण्डबीच तुलना गर्दा प्रचण्ड ‘फार बेटर’ भएको समेत बताए। ‘ओलीभन्दा प्रचण्ड फार बेटर छन्। क्रान्तिकारी पार्टी बनाउने कुरामा मिलेको छ,’ उनले भने, ‘जबज छोड्ने सबैभन्दा पहिले केपी ओली हो।’
उनले बैंसाखमा चुनाव नहुने ठोकुवा समेत गरेका थिए। ‘चुनाव गराउनका लागि तोकिएको होइन। चुनाव भए केपी ओली गुट पतन हुन्छ। ओली गुट सबैतिर अल्पमतमा छ,’ उनले भनेका थिए।

प्रतिनिधि सभा विघटनपछि आन्दोलनमा होमिएको यो पक्षले स्थायी कमिटी बैठकमा आन्दोलनको समीक्षा गर्ने बताइएको छ। यसका साथै सांगठनिक एकताका विषयमा पनि छलफल हुने बैठक सुरु हुनुअघि प्रचण्ड-नेपाल पक्षका एक जना स्थायी कमिटी सदस्यले जानकारी दिएका थिए।
स्थायी कमिटी बैठक सुरु हुनु भन्दा केही समय मात्रअघि राजधानीमा आयोजित ‘प्रतिनिधि सभा विघटन : प्रतिगामी कदम’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै माधवकुमार नेपालले ओलीलाई थप कारबाही बारे छलफल हुन सक्ने संकेत गरेका थिए।
‘उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ। अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ, अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ। आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ,’ उनले भनेका थिए।




