ललितपुर, १६ माघ । बाथरुममा नुहाउनेक्रममा पतिपत्नीको ज्यान गएको छ । फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको हो ।
प्रहरीका अनुसार तिखेदेवलस्थित हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा पतिपत्नीको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका उनीहरु हस्त गर्बुजामगर ४२ र उनकी श्रीमती नेत्रकुमारी ३९ रहेका छन् । हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव रहेको खुलेको छ ।

तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेर सो दम्पती अबेरसम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेहोश अवस्थामा भेटिए लगतै पाटन अस्पताल पुर्याइएको उनीहरुलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।




