काठमाडौं, २८ पुस । भारतीय न्युजका प्रधानसम्पादक सुधीर चौधरीले इतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् ।
भारतीय टेलिभिजन च्यानल जीका चौधरीसहित तीन जनाको टोली हिजो काठमाडौंमा आएर अन्तर्वार्ता लिएका हुन् । बालुवाटार पुगेर अन्र्तर्वाता लिनेक्रममा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताए ।
उनले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताएका छन्। उनले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताएका हुन् ।
ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ एउटै हैसियत हुने बताए । उनले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताएका छन् ।
यस्तै ओलीले छिमेकी देशसँग एकको कार्ड अर्कोसँग कार्ड कहिल्यै नखेल्ने पनि बताए । यसरी फरक कार्ड खेल्ने नेपालको राजनीति नभएको पनि उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न सोधेका थिए । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिए ।
साथै उनले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिए ।




