एजेन्सी, २० । भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबार बिहानसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा भारतमा १६ हजार पाँच सय चार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या एक करोड तीन लाख ४० हजार चार सय ६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणका कारण दुई सय १४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४९ हजार ६ सय ४९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार आठ सय ६७ जना संक्रमणमुक्त भएको देखिएको छ । अहिलेसम्म भारतमा दुई लाख ४३ हजार ९५३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
साथै भारतको राजधानी दिल्लीमा आइतबार चार सय २४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड– १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ५८५ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार सात सय ६१ को हाराहारीमा नमुना परीक्षण गरेको बताएको छ ।




