एजेन्सी, १४ पुस । पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ स्वरूप भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिए ।

कोरोना भाइरसको नयाँ स्वरूप बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गरेका छन् ।
हालसम्म भारतमा ६ जनामा कोरोनाको नयाँ स्वरूप फेला परेको बताएको छ । उनीहरु सबैलाई भिन्न राखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक बयान जारी गर्दै सँगै आएका यात्रीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ । उनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ ।
भारतले महिनाको अन्त्यसम्म बेलायतबाट आउने सबै उडानलाई रद्द गरेको छ तर नोभेम्बरको अन्त्यदेखि हालसम्म लगभग ३३ हजार यात्री भारत आइसकेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यी मानिसहरुमध्ये १ सय १४ जनामा कोरोनाभाइरसबाट संक्रमित पाइएका थिए । उनीहरुको नमूनामा नयाँ स्ट्रेनको अनुसन्धान भइरहेको छ । यो स्ट्रेन युरोप र एशियाका केही हिस्सामा पाइएका छन् ।




