काठमाडौं, ७ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनले जनमतको अपमान भएको बताएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबारमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन प्रधामन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताए ।
संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीले कदमविरुद्ध रणनीति तय गर्न बसेको मंगलबारको बैठकले निर्णय भने केहि गरेको छैन । बुधबार दिउँसो १ बजे बस्ने गरी टुंगिएको हो ।

मंगलबारको बैठकलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सम्बोधन गरेका थिए । सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न गरेका थिए । उनले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने बताएका थिए । उनले ओलीको कदमले जनमतको अपमान भएको बताएका थिए ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सभापति देउवालगायतका नेताहरूले सम्बोधन गरेको र छलफल जारी रहेको जानकारी दिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि निर्णयमा पुगिने जानकारी उनले दिए ।




