काठमाडाैं, ७ पुष । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गरेका छन्।
बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै उनले अझै पनि संसद विघटन नभएको बताए।
‘हामी लिडिङ पार्टी हौ। अरू कुनै पार्टी पनि विघटन मान्न तयार छैनन्। हामीले अदालतमा अपिल गरेका छौं। अदालतबाट संसद पुनर्स्थपना हुन्छ’, उनले भने।

उनले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको बताए।
संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू अझै पनि रहेको भन्दै प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने जिकिर गरे।
‘पूर्व एमालेमा पटक-पटक नेतृत्व गर्ने नेताहरु र पूर्व माओवादीका नेतृत्व पंक्तिका नेताहरु यही समूहमा हुनुहुन्छ । उपाध्यक्ष गौतम पनि यही समूहमा आउनुहुन्छ। भोलिबाट बादलले पनि सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ। ६५ प्रतिशत सदस्य हामीसँगै रहेकाले यो समूह नै आधिकारीक नेकपा हो,’ बैठकमा अध्यक्ष प्रचण्डले भने।




