काठमाडौं, ७ पुष । नेकपाका दुवै पक्ष एक अर्कालाई निषेध गरेर पार्टी फुटाउने प्रक्रियालाई वैधानिकता दिन लागेका बेला दुवै पक्षमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने बेग्लै छलफलमा जुटेका छन् ।

बबरमहलमा प्रचण्ड–माधव नेपाल पक्षको बैठक चलिरहेका बेला वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका छन् । दुवै नेतालाई बैठकमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड माधव नेपाललगायतका नेताहरु आज बिहान पनि उनीहरुको निवासमा पुगेका थिए ।
वामदेव र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । वामदेवलाई भेट्न बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए ।
ओली र दाहाल-नेपाल समूह दुवै पार्टी विभाजनको औपचारिक प्रक्रिया पूरा गर्ने दिशामा भेला र बैठकमा व्यस्त भए पनि पार्टी उपाध्यक्ष गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य थापाले पछिल्लो कदमलाई लिएर आफ्नो धुव्र स्पष्ट पारेका छैनन् ।
सोमबार पनि दुवै पक्षले भेला गरी संसद विघटनका विषयमा आफ्ना कुरा राखेका थिए । सोमबार ओली पक्षले प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड-नेपाल पक्षले संसद् भवनस्थित नयाँ बानेश्वरमा सांसदहरूको बेग्लाबेग्लै भेला गरेका थिए । दुवै भेलमा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित थिए ।
दुवै नेताले प्रतिनिधिसभा विघटन संविधानको मर्म र भावना विपरीत भएको बताएका छन् । तर, उनीहरुले फुटको साक्षी नबस्ने भन्दै कित्ताकाँटको राजनीतिबाट आफूलाई टाढा राखेका छन् ।




