काठमाडौँ, ६ पुष । संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न नेकपाका बहुमत सांसदहरुको भेला सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरस्थित संसद् भवनकै एक हलमा संघीय संसदका दुवै सदनका सांसदहरुको भेला गरेको हो ।
दाहाल-नेपाल समूहको हिजो बसेको स्थायी कमिटी वैठकले संसद् विघटन गर्ने कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । त्यसैको निरन्तरतामा यो समूहले आज सांसदहरुको भेला आयोजना गरेका हो । हिजोमात्रै दाहाल-नेपाल समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बानेश्वरमा भेला अगाडि दाहालले सचिवालय सदस्य रामबहादुर थापासँगसमेत छलफल गरेका छन् । आजै थापाले निकट नेताहरुको भेला गरेका थिए ।
यसबाहेक दाहाल नेपाल समूहका सांसदहरु कानूनी उपचारको खोजीमा सर्वोच्च अदालत जाने गृहकार्यमा पनि जुटेका छन् । यसका लागि सर्वोच्चमा जाने गरी दाहाल-नेपालसमूहका सांसदहरुको हस्ताक्षरसमेत बानेश्वरमै संकलन गरिएको थियो । दाहाल-नेपाल समूहका नेताहरुले कानून व्यवासायीसँगसमेत परामर्श गरेका छन् ।
प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए ।
यसअघि बिहान प्रधानमन्त्री ओली निकट सांसदहरुको पनि बालुवाटारमा भेला भएको थियो । भेलामा प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिइएकाले संसद विघटन गरी चुनावको घोषणा गरेको बताएका थिए ।
सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको प्रधानमन्त्री ओलीको दावी थियो । भेलामा गृहमन्त्री एवं सचिवालय सदस्य थापा भने सहभागी थिएनन् । उद्योगमन्त्री लेखराज भट्ट भने भेलामा सहभागी थिए । भेलामा ओली निकट मानिने प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनका सांसद सहभागी थिए ।
संसद विघटनपछि विभाजनको तहमा पुगेको नेकपा औपचारिक विभाजनको विन्दुमा पुगेको छ । यसैका लागि दुवै समूह भिन्दाभिन्दै तयारीमा जुटेका छन् ।




