काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको बदनाम गर्ने गरी नकारात्मक प्रचार भएको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार केही बेर बसेको स्थायी कमिटी बैठकमा संक्षिप्त कुरा राख्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘हाम्रो पार्टी प्रवक्तासँग स्वर्गीय कमान सिंह लामाको आर्थिक लेनदेनको बिषयमा जोडेर नकारात्मक प्रचार भयो’, उनले भने, ‘बदनाम गराउने उद्धेश्यले भएका यस्ता प्रचारको पछि नलाग्नुहोस्।’

अध्यक्ष प्रचण्डले प्रवक्ता श्रेष्ठसँगै उनकी स्वकीय सचिव सुशन कर्माचार्यको पनि बचाऊ गरेका छन्। सुशन गतिशील र उद्यमी महिला भएको टिप्पणी गर्दै प्रचण्डले ब्यापारिक कारोबारमा नारायणकाजीले मध्यस्थता मात्रै गरेको दोहोर्याएका हुन्। प्रवक्ता श्रेष्ठमाथि लगाइएको आरोपमा नेतृत्व गम्भीर हुनुपर्ने पनि उनले जिकिर गरेका छन्।
यसबारेको जानकारी प्रवक्ता श्रेष्ठ स्वयमले बैठक सकिएपछि पत्रकारहरुलाई दिएका हुन्। सिन्धुपाल्चोकमा निर्माणाधीन ७ मेगावाट क्षमताको एउटा हाइड्रो पावरमा आर्थिक लेनदेनको बिषयलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्। यही बिषयमा अध्यक्ष दाहालले बैठकमा आफ्नो कुरा राखेका हुन्।
लामाको लगानी रहेको हाइड्रोपावर देखिएको विवाद समाधानका लागि प्रवक्ता श्रेष्ठले सहयोग गरेको अध्यक्ष दाहालले जिकिर गरे। नेकपाका केन्द्रीय सदस्य लामाको निधन भइसकेको छ।
लामाको आर्थिक कारोबारमा प्रवक्ता श्रेष्ठको नाम जोडिएको छ। उनले अढाई करोडभन्दा धेरै रकम हिनामिना गरिदिएको दाबी लामा परिवारले गर्दै आएको छ। लामाको कोरोना संक्रमण र मिर्गौलाको समस्याका कारण मंसिर २४ गते राति निधन भइसकेको छ।




