काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएका छन् । आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको जनाएको छ ।

मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी भएका हुन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।
पहिलो दिनकोे बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेका प्रतिवेदन र दस्तावेजहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । साथै यही विचमा सहमति खोज्ने अनेकौ प्रयास भएपनि सहमति भने जुट्न सकेन । त्यसका लागि ओली प्रचण्डबीच एक्लाएक्लै र दोस्रो तहका नेताहरुबीच पनि छलफल भएको बताइएको छ ।
खासगरी प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन फिर्ता गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड दुवै प्रतिवदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने भन्दै प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।यो बीचमा केही नेताहरुले नेकपाको विवाद समाधान गर्न दुवै अध्यक्षका प्रतिवेदन स्थगित गरेर अर्कै प्रतिवदन बनाउन सकिने भन्दै नेताहरुलाई कन्भिन्स गर्न खोजेपनि त्यसमा प्रचण्ड सहमत हुन सकेका छैनन् ।
४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।




