काठमाडौं, २५ मंसिर । विवेकशील नेपाली र साझा पार्टीको एकीकरणपश्चात् नवगठित विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु हुने भएको छ। बुधबार पार्टी एकताको औपचारिक घोषणा गर्न आयोजित भर्चुअल समारोहमा नवगठिक पार्टीको चुनाव चिह्न तराजु हुने घोषणा गरिएको हो।
यसैगरी पार्टीमा २६ सदस्यीय सचिवालय तथा १ सय ३० सदस्यीय केन्द्रीय समिति बनेको छ। यी दुवै समितिमा तत्कालीन दुवै पार्टीका बराबर सदस्य रहेका छन्। सबै पदहरु बराबरीको आधारमा बाँडफाँट भएको हो।

पदीय बाँडफाँट मिलेपछि दुवै पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो। नवगठित पार्टीका अध्यक्षमा रविन्द्र मिश्र तथा संयोजकमा मिलन पाण्डे चयन भएका छन्। मिश्र तत्कालीन साझाका तथा पाण्डे विवेकशीलका अध्यक्ष हुन्।
पार्टीको एकीकरण घोषणापत्र
आज मिति ०७७ मङ्सिर २४ गते, बुधबार, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ। नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आ-आफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थियौँ। तर त्यो एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भयो। त्यो निकै दुःखद घटना थियो।
पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पुर्यायो। तत्पश्चात्, हामीलाई पुनः एकीकरणका लागि हाम्रा सदस्य, शुभचिन्तक, आम नागरिक र मतदाताहरूबाट निरन्तर सुझाव, दबाब र उत्प्रेरणा प्राप्त भइरह्यो। परिणामस्वरूप, संवादलाई निरन्तर अगाडि बढाउँदै हामीले आज पुनः पार्टी एकीकरण गरेका छौँ। यो एकीकरण स्वभावतः विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने हाम्रो विनम्र प्रयत्न त हो नै, नेपाली नागरिकले चाहेजस्तै एक अग्रगामी, सुसंस्कृत र उन्नत पार्टी निर्माण गर्ने सङ्कल्प पनि हो।
यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ। हामी बहुलवादमा आधारित “कल्याणकारी लोकतन्त्र”, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौँ। यस्तो राजनीति जसले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउन सकोस्। यस्तो राजनीति जसले समाजको तल्लो तप्कामा रहेका बहुसङ्ख्यक किसान र मजदुरलाई श्रम गरेर स्वाभिमानपूर्वक बाँच्ने वातावरण तयार गर्न सकोस्। र, इमानदार, सक्षम र दूरदृष्टिपूर्ण नेतृत्व भएको खण्डमा ती सबै सम्भव छन् भन्ने हाम्रो ठहर हो।
हामी सहभागितामूलक लोकतन्त्र र परिणाममुखी राजनीति स्थापना गर्न चाहन्छौँ, जसले प्रत्यक्षतः नागरिकलाई अझ धेरै अधिकार सम्पन्न बनाओस्। जसले जन प्रतिनिधिहरू लाई मतदाताप्रति अझ धेरै उत्तरदायी हुन प्रबन्धन गर्न सकोस्। हामी राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी बन्न चाहन्छौँ। हामी समावेशी लोकतन्त्र स्थापना गर्न चाहन्छौँ, जसले युवा, महिला, गरिब तथा सीमान्तकृत समुदायलाई अधिकार सम्पन्न गरी आर्थिक, सामाजिक न्याय सहितको समतामूलक संवृद्धि सुनिश्चित गर्न सकोस्। हामी राजनीतिलाई पेसा हैन, सेवामा रूपान्तरण गर्न चाहन्छौँ।
एकीकृत पार्टी नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहस जस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने छ।
एकीकरणका प्रमुख बुँदाहरू:
१) एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।
२) एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।
३) एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।




