काठमाडौं, १७ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनअगावै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउनु पर्नै आफ्नो बटमलाइन सुनाउनु भएको छ । आफूनिकट स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जनसंगठनका नेताहरुसँगको भेटमा बरिष्ठ नेता नेपालले ‘ओलीलाई महाधिवेशनअघि नै दुवै पदबाट हटाएर जाने आफ्नो प्रष्ट बटमलाइन सुनाउनु भएको हो ।

बरिष्ठ नेता नेपालले गत चैतदेखि नै यस्तो अभियान चलाएको जानकारीसमेत उनीहरुलाई दिनुभएको नेपालसँग भेटेर फर्किएका जनसंगठनका एक नेताले जनताटाइम्सलाई बताए । ती युवा नेताका अनुसार बरिष्ठ नेता नेपालले अहिले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई मिल्नै नसक्ने अवस्थामा पुर्याएको भन्दै ओलीलाई पार्टीबाटै निकाल्ने रोडम्याप सुनाएको छ ।
उनले चैत–बैशाखतिरै ओली कमरेडलाई बहुमत पुर्याएर अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने योजना बनाउनु भएको रहेछ, अहिले प्रचण्डको दह्रो साथ रहेकोले महाधिवेशन अगावै दुवै पदबाट हटाउने निर्णय सुनाउनु भयो, हामीले पार्टी बिभाजन रोक्नुपर्छ भन्ने सुझाव दिँदा ओलीलाई हटाउने जे पनि गर्ने हो भन्नुभयो,’ नेपालसँग भेटबारे जनताटाइम्ससँग ती युवा नेताले भने । उनका अनुसार नेता नेपालले महाधिवेशनमा पुग्दा अहिलेको अवस्था नरहने र ओलीलाई हराउन पनि नसक्ने अवस्थाको चित्रण गर्नुभएको छ ।
‘ओली अझै १५ बर्ष बाँच्छन, महाधिवेशनमा हराउन सकिदैन, बिधानमा जे लेखेको भए पनि अहिले प्रचण्ड सहमत भएका छन, हाम्रो बहुमत पनि पुगेको छ, यही बेला ओलीलाई फाल्नुपर्छ,’ ती युवा नेताका अनुसार आफ्नो निश्कर्षका रुपमा बरिष्ठ नेता नेपालको भनाई थियो । त्यसक्रममा नेता नेपालले केही समय पर्खदा बामदेव गौतम र झलनाथ खनालको भर नहुने भन्दै अहिले नै ओलीबिरुद्धको अभियान पूरा गर्ने निश्कर्ष पनि सुनाउनु भएको छ ।
‘बामदेवको भर छैन, महाधिवेशनको बेला मलाइ नै उठनै नसक्ने गरी ढाल्नुपर्छ भनेका होइनन ? अहिले मौका आएको छ, ओलीलाई उठनै नसक्ने गरी ढाल्नुपर्छ,’ नेपालको भनाई उधृत गर्दै ती नेताले भने । उनका अनुसार नेता नेपालले आफूले लामो योजना बनाएर प्रचण्डलाई आफूतिर पारेको कथासमेत सुनाउनु भएको थियो । ‘अहिलेको लडाईं प्रचण्ड र ओलीको होइन, मेरो र ओलीको हो, अहिले पनि प्रचण्ड र ओली मिलाउनु पर्छ भन्ने हाम्रै समुहमा पनि धेरै छन, तर अव उनीहरुको कुरा सुन्ने अवस्था छैन ।’
बरिष्ठ नेता नेपालसँग भेटेर आएका ती युवा नेताले प्रधानमन्त्री ओलीले मंगलवारको सचिवालय बैठकमा आफूबिरुद्ध ‘कू’ को प्रयाश गरेको भनेपछि मात्रै आफूहरु नेपालको बिषयमा प्रष्ट भएको बताए । ‘प्रधानमन्त्रीले ‘कू’ को प्रयाश भयो भनेपछि माधव कमरेडले भन्नुभएको महाधिवेशनअगावै ओली कमरेडलाई हटाउने बिषयमा प्रष्ट भयौं,’ उनले भने ।




