काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु एकताविरोधी मानसिकता भएको बताएका छन्।
‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकताविरोधी गुटगत मानसिकता हो’, पोखरेलले फेसबुकमा लेखेका छन्। पोखरेललाई ओलीका विश्वास प्राप्त नेताको रुपमा चिनिन्छ।

नेकपाको पछिल्लो विवादमा अध्यक्ष ओलीको राजीनामा माग भइरहेको छ। कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई त्याग गर्न भनेका थिए।
ओलीले आफूले राजीनामा नदिने स्पष्ट पारिसकेका छन्। बरु, प्रचण्डले लगाएको आरोप पुष्टि गर्न नसके उनैले पद छाड्नुपर्ने बताइसकेका छन्। सचिवालय लगायतका कमिटीमा ओली अल्पमतमा छन्। उनको राजीनामा माग गर्ने तयारी प्रचण्डले नेतृत्व गरेको बहुमत पक्षको छ।




