काठमाडाैं, २५ कात्तिक । संसारमा धेरै सरकार र राष्ट्र प्रमुखका सामाजिक सञ्जालमा व्यक्तिगत र संस्थागत एकाउन्ट हुन्छन् । उनीहरूले आफ्ना सूचनाहरू प्रवाह गर्न सामाजिक सञ्जाल प्रयोग गर्छन् ।
सूचनाका लागिमात्र होइन पछिल्लो समय त कूटनीतिमा पनि सामाजिक सञ्जालले भूमिका खेल्न थालेको छ। हालै अमेरिकाको राष्ट्रपति निर्वाचित भएका जो बाइडेनलाई संसारभरिका नेताहरूले ट्वीटरमार्फत बधाई दिएका छन्।
नेताहरूले आफ्नो सहजता हेरेर केहीले आफ्नो सामाजिक सञ्जाल आफैंले चलाउँछन् भने केहीले त्यसको जिम्मा सचिवालयलाई दिन्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल उनको सचिवालयले चलाउँछ। सामाजिक सञ्जाल चलाउने कुरामा उनको सचिवालय यति असंवेदनशील छ कि आफ्नो व्यक्तिगत एकाउन्टमा राख्न खोजेको कुरा प्रधानमन्त्रीको आधिकारिक ह्याण्डलबाट पोष्ट गरिदिन्छ। मंगलबार पनि त्यस्तै भयो।
मंगलबार दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेल सँगै भएको फोटो प्रधानमन्त्रीको ट्विटरबाट ट्विट भयो।
ट्विट प्रधानमन्त्रीलाई समेत ‘कोरोना संक्रमण भएको’ अर्थ्याउन मिल्ने खालको थियो। प्रधानमन्त्रीको ह्याण्डलबाट भएको ट्विट र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबाट भएको ट्विटको भाषा र फोटो एउटै भएकाले उक्त ट्विट थापाले गरेको देखिन्छ। यद्यपी ट्विट केही सेकेन्डमै डिलिट गरिएको थियो।





