एजेन्सी, २४ कात्तिक । विश्वभर कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या पाँच करोड नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार हालसम्म १२ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु कोरोना भाइरसाट ज्यान गएको छ। धेरै देशमा परीक्षण अपर्याप्त भएकाले सङ्क्रमितको कुल सङ्ख्या योभन्दा धेरै हुनसक्ने ठानिएको छ।
रोयटर्स समाचार संस्थाका अनुसार कोरोनाभाइरसको दोस्रो लहरले मात्रै सङ्क्रमित सङख्याको करिब एक चौथाइ समेट्छ। युरोपमा मात्रै एक करोड २५ लाखभन्दा बढी मानिस सङ्क्रमित छन् भने तीन लाख ५७ सय मानिसको मृत्यु भइसकेको छ।
अमेरिकामा मात्रै लगभग एक करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। विगत तीन दिनमा प्रत्येक दिन त्यहाँ एक लाख २५ हजारभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्।
आइतवार फ्रान्समा ३८,६१९ नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको छ। शनिवार त्यहाँ ८६,८५२ जनालाई सङ्क्रमण पुष्टि भएको थियो। त्यहाँका स्वास्थ्यमन्त्रीले तथ्याङ्क सङ्कलनमा समस्याहरू रहेको र सोमवार त्यसलाई सच्याउन सकिने बताएका छन्।
फ्रान्समा २७१ नयाँ मृत्यु पुष्टि भएसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या ४०,४३९ पुगेको छ। युरोपमा धेरै सङख्यामा मृत्यु देखिएको यूकेमा २०,५७२ नयाँ सङ्क्रमित छन् भने त्यहाँ थप १५६ सहित मृत्यु हुनेको सङ्ख्या ४९,०४४ पुगेको छ। पोर्चुगलमा सोमवारबाट देशभरका धेरै ठाउँमा कर्फ्यू लगाउन लागिएको छ। स्वीट्जरल्याण्डमा २०० तालिमप्राप्त सैनिकलाई परिचालन गरिँदैछ।

अस्पतालमा सङ्क्रमित धेरै भर्ना भएपछि सहायताका लागि ती सैनिकलाई चार महिना तालिम दिइएको थियो। अल्जेरियामा पनि देशका ४८ क्षेत्रमध्ये २० मा पहिला नै कर्फ्यु लगाइसकिएको छ र त्यहाँ थप नौ स्थानमा कर्फ्यू लगाइँदैछ।




