काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सम्पन्न भएको छ ।
सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि शुक्रबार प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।
धुम्बाराहीमा भएको बैठकमा प्रचण्डले अध्यक्ष ओलीले औपचारिक बैठक बोलाए पार्टी फुटको बिन्दु त्यही हुने भन्दै चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका छन् ।

‘पटकपटक प्रयास गर्दा पनि हिजोसम्म अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनु भएन’, बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सहमति नभएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाएर बस्नुभयो भने त्यो नै पार्टी फुट घोषणाको बिन्दु हुने भनेर भन्नु भएको कुरा अध्यक्ष प्रचण्डले आज जानकारी दिनुभयो ।’
पार्टी एकताको अवस्थालाई सहमतिकै माध्यमबाट कायम गर्नुपर्ने भन्दै प्रचण्डले शुक्रबारका लागि अनौपचारिक बैठक बोलाएको श्रेष्ठको भनाइ छ ।
धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष पाँच नेता सहभागी थिए । बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन ।




