काठमाडौं, १७ कात्तिक । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्ममा विश्वमा १२ लाख ५ हजार ४४ जना संक्रमितको मृत्यु भइसकेको छ ।आइतबार विश्वभर ४ लाख ३६ हजारभन्दा बढी नयाँ संक्रमणका केस पुष्टि भएका छन् भने भाइरस संक्रमणका कारण ५ हजार ३०० जनाको मृत्यु भएको छ ।
तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ४७१ जनाले ज्यान गुमाइसकेका छन् ।
आइतबार अमेरिकामा ३९९ संक्रमितको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिले अमेरिकामा ३१ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।
दोस्रो बढी मृत्यु हुनेमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल रहेको छ । त्यहाँ सोमबार बिहानसम्म कोरोना भाइरसका कारण १ लाख ६० हजार १०४ जनाले ज्यान गुमाएका छन् ।
आइतबार त्यहाँ २०२ जनाको मृत्यु भएको छ भने १० हजार १०० नयाँ संक्रमित थपिएका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमित भने ४ लाख ४ हजार ६५९ मात्र रहेका छन् ।
तेस्रो बढी मृत्यु हुनेमा एशियाली मुलुक भारत रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण १ लाख २२ हजार ६४२ जनाको मृत्यु भएको छ ।

त्यहाँ आइतबार मात्र ४९३ जनाले ज्यान गुमाएका छन् भने ४६ हजार ४४१ नयाँ संक्रमित थपिएका छन् । हाल भारतमा ५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।




