काठमाडौँ, ११ माघ । आज तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछार, त्यस समुदायले विभिन्न कार्यक्रमसाथ हर्षोल्लासपूर्वक मनाउँदै छन् ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी ‘मुसा’ वर्षमा प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गरिन्छ ।
ल्होसार अर्थात् ल्होछारमा ‘ल्हो’ को अर्थ वर्ष वा साल अथवा सम्वत् हो भने ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसरी ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको हो ।
यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
प्रकृतिप्रेमी समूदायका रुपमा रहेको तामाङहरु समुदायले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । आजको दिन छोरी(चेलीहरूलाई बोलाएर टिका लगाइदिने चलन छ ।
ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु १२ वटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छन् र यो चक्र दोहोरिरहन्छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिल प्रदर्शनीको गरिनेछन् ।
सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ ।




