वीरगञ्ज, १३ कात्तिक । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर एक १४ वर्षीय किशोर गम्भीर घाइते भएका छन्।
प्रहरीले चलाएको गोली लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन्। टाउकोमा गोली लागेका उनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको बताइएको छ।
बुधबार बेलुकी स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएको जनाइएको छ । प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका जानकारी दिएको छ । घाइते तीनै जना प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।
भारतबाट राजश्व छलेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएर कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको बताइएको छ।

स्थिति निन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गर्दा सडक छेउमा बसेका रन्जनको टाउकोमा गोली लागेको हो।




