एजेन्सी, १२ कात्तिक । युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको तथ्यांक बाहिरिएको छ ।
बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ। यस्तै अस्पतालहरू अहिले कोभिडका बिरामीले खचाखच भरिएको जनाइएको छ । अहिलेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेको बताइएको छ।
पछिल्लो समय युरोपेली मुलकमा संक्रमण तीव्र बनेसँगै नयाँ प्रतिबन्ध लगाइएको र त्यसको प्रभावकारीता थाहा पाउन दुई साता कुर्नुपर्ने जनाइएको छ । रुसमा मंगलबार एकैदिन ३२० कोरोना संक्रमितको ज्यान गएको हो। यसअघि साताको पहिलो दिन बुधबार (अक्टोबर २१) मा ३१७ संक्रमितको ज्यान गएको थियो। यससँगै रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ५८९ पुगेको छ।
इटालीमा मंगलबार मात्र २२१ जना कोरोना संक्रमितको ज्यान गएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ७ सय पुगेको छ। यस्तै इटालीमा मंगलबार २१ हजार ९९४ नयाँ संक्रमित भेटिएका छन्। यो संख्या साताभरिकै सबभन्दा बढी हो। बीबीसीका अनुसार सोमबार नयाँ प्रतिबन्धको घोषणा गरेपछि इटालीका सहरहरूमा त्यसविरुद्ध प्रदर्शन भएका छन्।

बेल्जियममा मंगलबार मात्र १२ हजार ६८७ नयाँ संक्रमित भेटिएका छन् भने ८९ जनाको मृत्यु भएको छ। हालसम्म बेल्जियममा ३ लाख ३३ हजार ७१८ जना संक्रमित भइसकेका छन्। त्यस्तै १० हजार ८९९ को मृत्यु भइसकेको छ।




