काठमाडौं, १० माघ । सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगको बैंक खाता बन्द गर्ने भएको छ । तीन वटा चिनी उद्योग अन्नपूर्ण, इन्दिरा र लुम्बिनीको बैंक खाता बन्द गर्ने भएको हो ।
तीन वटा उद्योगको बैंक खाता रोक्का गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। सरकारले गत १८ पुसमा ७ माघभित्र उखु किसानको बक्यौता रकम भुक्तानी तिर्न चिनी उद्योगलाई समयसीमा दिएको थियो ।
अन्नपूर्ण, इन्दिरा र लुम्बिनी मिल सञ्चालकले सरकारले दिएको समयसीमा सकिँदा किसान भुक्तानी गरेको छैन । सरकारको सम्पर्कमा समेत आएका छैनन् । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले चिनी उद्योगले सरकारको अवज्ञ गरेपछि बाध्य भएर चिनी उद्योगीको बैंक कारोबार रोक्का गर्ने निर्णय लिएको बताए ।

मन्त्रालयको निर्देशनपछि सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले माघ ५ गतेसम्म उखु किसानको ११ करोड ५० लाख भुक्तानी गरेका छन् । महालक्ष्मी सुगर मिलको उखु किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने २१ करोड ४० लाख तिर्न बाँकी थियो । यस्तै सरकारको निर्देशनपछि अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । अन्नपूर्ण मिलले सबैभन्दा कम किसानको भुक्तानी गरेको हो ।
त्यस्तै मन्त्रालयका अनुसार, बाबा बैजुनाथ चिनी उद्योग र बाग्मती खाडसारी मिस प्रालि, महाकाली सुगर र लुम्बिनी चिनी उद्योग सम्पर्कविहीन छन् । मन्त्रालयका अनुसार बाग्मती खाडसारी दुई उद्योगको ८ करोड ४१ लाख ४१ हजार ५८६ रुपैयाँ बक्यौता रहेको छ । महाकाली सुगर मिलले ६२ हजार १०७ रुपैयाँ किसानको बाँकी रकम भुक्तानी गर्नुपर्नेछ ।




