काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा सुरु भएको छ । बिहान १० बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ४ बजेसम्म हुनेछ ।
कुल १८ पदका लागि मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा छन् । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार नै पुगिसकेका थिए ।
सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन भइरहेको छ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् ।

निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेद्वार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।




