स्याङ्जा, ८ असोज। स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने ८ जना बेपत्ता भएका छन् । पहिरोबाट एक जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।
घर माथिको पहिरो निरन्तर गएको कारण उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस्तै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको ज्यान गएको जनाइएको छ ।




