खोटाङ, ३० भदौ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो ।
भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो ।
नेकपा र कांग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएका छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा कांग्रेसका उम्मेदवारले जितेका थिए । बतासे र खार्मीको उदाहरण हेर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिने गरी दुवै पार्टी कम्मर कसेर लागेको देखिन्छ । बतासे र खार्मीमा भएको होडबाजी एउटा उदाहरण मात्र हो ।
कोरोना भाइरसको महामारीका बीचमा पनि नेकपा र कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रम बिनासावधानीपूर्वक गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको हो ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीयता जिल्लामा किराँत समुदायको साकेला, हिन्दूधर्मावलम्बीको देवाली, नेवार समुदायको लाखेलगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो । सङ्कटका बेलामा जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् । नेकपा र कांग्रेस मात्र नभई जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ ।
राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको देखिन्छ । राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिना सावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ ।




