काठमाडौं, भदौ २५ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘सुदुर पश्चिम प्रदेश समिति’ बिहीबार गठन गरिएको छ।
निषेधाज्ञाका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले विजय विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको हो । ८ सदस्य पछि थप्ने गरी ५१ सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । समितिले अब सुदुर पश्चिम प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा समिति बनाउँदै अगाडि बढ्ने जनाइएको छ ।
भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले नेपाली समाजमा जात व्यवस्थाको पकड बारे विचार राख्नुका साथै मोर्चाको अवधारणा र संगठनात्मक नीति बारे अभिव्यक्ति राखेका थिए ।
त्यस्तै मोर्चाका बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्माले नेपाली समाजको सबैभन्दा जटिल समस्या नै जात व्यवस्था भएकोले त्यसको अन्त्य नगरिकन कुनै पनि उत्पीडित वर्ग, समुदायको मुक्ति सम्भव नभएको बताए ।
मुक्तिका लागि ठीक राजनीतिक विचारमा संगठित हुनु मात्रै एउटा विकल्प रहेको उनले जनाए । उनले अगाडि थपे, ”हामी युवाहरु वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको विचारमा आवद्ध भएर अघि बढेका छौँ ।”






