जनकपुरधाम, भदौ १४। प्रदेश नं. २ मा शनिबार मात्रै उपचाररत सात जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ ।
शनिबार मात्रै प्रदेश नं. २ को महोत्तरीमा दुई, सिरहामा दुई र पर्सामा तीनजना गरी सात जना कोरोना भाइरस सङ्क्रमित उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
शनिबार मात्रै प्रदेश नं.२ मा २० महिलासहित १६५ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणबाट आज १६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमितहरु धनुषामा ४९, महोतरीमा २७, सिरहामा १३ जना, बारामा नौ, पर्सामा ३४, सर्लाहीमा ४५ र रौतहटमा एकजना रहेका छन् । योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार ७९५ पुगेको छ ।




