बाँके, ७ माघ । उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । उक्त डिजिटल शौचालय शौचसँगै सङ्गीतको आनन्द लिन सकिन्छ ।
नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ । सो शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ ।
सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्नेछन् । पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन । शौचालय प्रयोगमा आए-नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ । शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ ।
शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ । शौच गर्न गएको व्यक्तिले साबुन सङ्केत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्छ । एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा जोड दिनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत रु ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।
नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।




