काठमाडौं, २७ साउन । देशभर कोरोना भाइरस संक्रमण व्यापक बन्न थालेपछि सरकारले सेवाग्राहीको बढी जमघट हुने सबै खालका कार्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले बढी जनसम्पर्क हुने सरकारी सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने ।’
सरकारले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय गरेको छ ।
सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएको हुँदा धार्मिकस्थलहरूमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने नगराउने निर्णय पनि भएको छ । चाडपर्वहरू आआफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर मनाउन पनि सरकारले आग्रह गरेको छ ।




