टीकापुर, १९ साउन । बाढीले विस्थापित भजनीका पीडितले पाँच दिनपछि आइतबार खाना पाएका छन् ।
विस्थापितलाई सडकमै सामूहिक मेस सञ्चालन गरिएपछि पेटभरि खाना खाएका पीडित खेमराज पाण्डेले बताउनुभयो । भजनी–८ को सोनाफाँटामा सामूहिक मेस सञ्चालन भएपछि ५०० ले खाना खाएका छन् ।
ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढी पीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो । “पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो”, पीडित सुन्ता विकले भन्नुभयो, “जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।”

भजनी–८ कै सुरवी चौधरीको चार वर्षको छोराले पनि पेटभरि दालभात खाएको छ । भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण शुरु गरेको छ । भजनी–३ ले राहत सामग्री वितरण थालेको छ ।




