एजेन्सी, ०६ माघ । बेलायतका राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने बाहेक आफूसँग अरू कुनै विकल्प नभएको बताएका छन्।
advertisement
राजपरिवारको शीर्ष सदस्यबाट ह्यारी र उनकी श्रीमती पछि हट्नेबारे गरेको निर्णय गम्भीररुपमा लिएको ह्यारीले बताए । उनले उक्त विषयमा एक परोपकारी संस्थाको कार्यक्रममा बाेलेका हुन्। उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए।
उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे। हिज वा हर रोयल हाइनेस उपाधिबाट पछि हट्ने घोषणा गरेपछि राजकुमार ह्यारी पहिलोपटक यसबारे सार्वजनिक रुपमा बोलेका हुन् । अब ह्यारी र उनकी श्रीमती मेगनले हिज वा हर रोयल हाइनेस सम्बोधन प्रयोग गर्न नपाइने भएकाे छ ।
यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले शनिबार जानकारी दिएको थियो । यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।



