काठमाडौं,११ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई चेतावनी दिएका छन् ।
दाहालले सुदूरपश्चिम प्रदेशका नेता—कार्यकर्ताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गरेका छन् । छलफल गर्न सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता—कार्यकर्ता शुक्रबार प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
छलफलका क्रममा दाहालले आपूर्तिमन्त्री भट्टलाई स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गर्न चेतावनी दिएका हुन् । ‘भट्टमा गम्भीर प्रकारको विचलन देखियो । प्रचण्ड अर्थात् पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी कमिटी सदस्य बन्ने, मन्त्री पनि बन्ने तर ओलीजीको वकालत गरिराख्नुभएको छ । ओलीजीतिरै लाग्नु छ भने स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गरे भइहाल्यो नि !’ प्रचण्डको भनाइ उद्धृत गर्दै खगराजले भने ।

सुदूरपश्चिमका नेता कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक र पार्टी सङ्कटापन्न अवस्थामा पुगेको र निकास अनिवार्य भएको बताएको सह–इन्चार्ज खगराज भट्टले जानकारी दिए । “नेपालको कम्युनिस्ट आन्दोलनको सवलीकरण, सुदृढीकरण, केन्द्रीकरण र त्यसको नेतृत्वको आर्थिक सामाजिक रूपान्तरण दिशामा, राष्ट्रिय सुशासन र समृद्धिको दिशामा देशलाई लैजाने गरी यो पार्टी एकता गरेको हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भने, “बलियो कम्युनिस्ट पार्टी निर्माण गर्न, विश्वलाई नवीन सन्देश प्रवाह गर्न पार्टी एकता गरेको हो । तर, केपी ओलीले एकताको यो मर्म आत्मसात् गर्न सक्नुभएन । यो उद्देश्यमा दत्तचित्त नदेखिएकाले माओवादी केन्द्रसँग चुनाव जित्न र प्रधानमन्त्री बन्न दुवै गाह्रो हुने भएकाले गठबन्धन मात्रै गरेको हो कि भन्ने प्रश्न उठेको छ ।”
भेटमा प्रचण्डले माओवादी केन्द्रलाई हिजोकै दृष्टिकोणबाट हेरेको र विगतको आग्रह पूर्वाग्रह यथावत् रहेको र त्यसले दुई पार्टीलाई रुपमा जोडिए पनि सारमा मिल्नै नदिएको बताएको भट्टले जानकारी दिए । “ओलीजीमा अत्यन्त आत्मकेन्द्रित, चरम व्यक्तिवादी प्रवृत्ति देखियो । आफैंलाई केन्द्रमा राख्ने, सर्वेसर्वा मैं हुँ भन्ने मनोवृत्ति पनि देखियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भने, “कसैलाई मान्छे नगन्ने, कसैलाई मान्छे हुन् पनि नभन्ठान्ने, अरूका कुरा नसुन्ने, सरुवा, बढुवा, नियुक्ति, नीतिगत निर्णय हुन् या प्राविधिक निर्णय सबैमा स्वेच्छाचारी ढङ्गले चल्न खोज्ने, सहयोद्धाहरूको मानमर्दन गर्ने, सहयोद्धाहरू तलकै हुन्, रैती हुन्, म मात्रै विशिष्ट हुँ भन्ने चिन्नत हावी भयो ।”




