काठमाडौं, ११ साउन। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई एक ठाउँमा हुनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ‘व्यक्तिगत धारणा’ भन्दै उनले प्रचण्ड र बाबुरामको मेलबाट नै देशको हीत हुने बताए ।
उनले एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पूरा भएको भन्दै अब २०५२ पछिका सबै प्रगतिशिल शक्तिहरु एकठाउँमा हुनुपर्ने बताएका हुन् ।

‘मेरो विचारमा एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पक्कै पूरा भयो होला’, उनले भनेका छन् ‘अब प्रचण्ड बाबुरामसहित २०५२ सालपछिका सबै प्रगतिशील शक्तिहरु एकठाउँमा हुने वातावरण बन्दा नै प्रचण्ड बाबुराम र सँगसँगै देशको पनि हित हुने देख्दछु ।’
भट्टराईको प्रेस सल्लाहकारको भूमिकामा समेत रहेका उनी जनयुद्वकालदेखि नै तत्कालिन माओवादीमा आवद्ध थिए भने बाबुराम भट्टराईसँग नजिक हुँदै काम गरेका थिए । बाबुरामले नयाँ शक्तिको निर्माण र तत्कालिन फोरमसँग एकता गर्दै जनता समाजवादी पार्टीसम्म आउँदा उनले साथ छोडेका छैनन् ।




