वीरगञ्ज, ११ साउन। नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक ६५ वर्षीय वृद्धको ज्यान गएको छ ।
वृद्धमा मधुमेह र मुटु रोग रहेको जनाइएको छ । वृद्धको आइतबार बिहान मृत्यु भएको हो । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो ।
वृद्धको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी नै रहेको बताइएको छ । नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो ।

वृद्धको हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई शनिबार राति गण्डक अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ ।




