काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सम्बन्धमा पार्टी आन्तरिक छलफलमै रहेको बताएको छ ।
एमसीसिबारे पार्टीको धारणा भनि विभिन्न संचारमाध्याममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै जसपाले एमसीसीबारे आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको स्पष्ट पारेको हो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै एमसिसीबारे पार्टीले निर्णय गरिनसकेको स्पष्ट पारेका छन् ।

‘पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन, जसपाको नाममा एमसिसीबारे आएका धारणाहरूप्रति जनतामा भ्रम फैलाउने उदेश्यले गरिएको भ्रमपूर्ण, गलत र सुनियोजित प्रचार हुन जसमा सत्यता छैन,’ जसपाले भनेको छ।
पार्टीलाई नै बदनाम गराउने गरी यस्ता कार्यहरु भइरहेको भन्दै उसले गैर-जिम्मेवार भ्रमपूर्ण र गलत प्रचारको भ्रममा नपर्न र सचेत रहन पनि अनुरोध गरेको छ।




