काठमाडाैं, १९ असार ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले चाकुपाटमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीविरूद्ध तीन करोड २१ लाख ६२ हजार ४२० रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इन्जिनियर आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारीसाधन खरिद लगायतमा खर्च गर्ने गरेको अख्तियारले बताएको छ।
अनुसन्धानबाट स्रोत नखुलेको रकम विभिन्न खाताहरूमा जम्मा गर्ने गरेको र अस्वभाविक बैकिङ कारोवार देखिएको अख्तियारकाे भनाइ छ । उनीविरूद्ध दुई वर्ष कैद सजाय र बिगो बमोजिम जरिवाना माग गरी अख्तियारले आरोपपत्र दायर गरेको छ।




