काठमाडौं, १८ असार। सत्तारुढ दल नेकपामा चर्केको विवादकाबीच बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जम्का भेट भयो। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बसालेपछि स्थायी कमिटी बैठक स्थगित हुँदा महासचिव विष्णु पौडेलको समन्वयमा ओली र प्रचण्डबीच बालुवाटारमै भेट भयो।
प्रधानमन्त्री ओलीले खाना खाँदै गरेको अवस्थामा दुई अध्यक्षबीचको वार्तालाप निकै तिक्ततापूर्ण रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रचण्डले स्थायी कमिटी बैठक हुँदाहुँदै क्याविनेट किन बोलाएको हो भनेर प्रधानमन्त्रीसँग सोध्नु भयो। जवाफमा प्रधानमन्त्री ओलीले ‘दिस इज पार्लियामेन्ट्री सिस्टम,आइ एम प्राइम मिनिस्टर’ भनेर जवाफ दिएको स्रोतले जनायो।

यसरी प्रचण्डलाई ओलीले आक्रामक जवाफ दिएपछि महासचिव पौडेलले दुबै अध्यक्षलाई कुलडाउन गर्न प्रयास गरेका थिए। त्यसपछि प्रचण्डले मिलेर जाने प्रस्ताव गरेको र ओलीले अब मिल्ने समय नरहेको जवाफ दिएको स्रोतले जनायो।
दुई अध्यक्षबीच तिक्ततापूर्ण वार्तालापपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन्। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले प्रचण्ड शितल निवास पुगेको डिसी नेपाललाई जानकारी दिए।
नेकपामा विवाद चर्किरहेको बेला बिहीबार सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ। नेकपा सथायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद उत्कर्षमा पुगेको छ।




