स्थान : प्रादेशिक अस्पताल, जनकपुर ।
समय : आइतबार राति ।
धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे ।
तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के भो हँ ?’
तर राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर राजुको पीडा २० को १९ भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् ।
अन्तत: सोमबार साँझ आइसोलेसन अस्पतालभित्रै राजु सदाको प्राणपखेरु सदाका लागि अस्तायो ।
देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण यसले देखिएको छ । भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको छ ।

धनुषाको हंसपुर नगरपालिका– ७ निवासी पर्साहीस्थित विपन्न दलित बस्तीका राजु सदा रोजगारीका लागि भारत पसेका थिए । उनको उमेर १६ वर्ष मात्रै थियो, तर दक्षिण भारतको चेन्नईको होटेलमा काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका थिए ।
तर, लकडाउनपछि होटेलले उनलाई कामबाट निकाल्यो, गाँस र वासको पनि समस्या भएपछि उनी नौजना साथीसँग घर फर्किएका थिए । घर पुगे बाँचिएला भन्दै आएका सदाले घर भने पुग्न पाएनन् । राजु सदा झण्डै एक वर्षअघि रोजगारीको खोजीमा भारतको अहमदावाद पुगेका थिए ।
एक साता हिँडेर उनी ३ जेठमा प्रसाही आइपुगेका थिए । कोरोना संक्रमण फैलिएको क्षेत्र भारतबाट आएका कारण उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखे । तर लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएन ।
क्वारेन्टिन बसाइ भद्रगोल थियो ।
खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा उनलाई पखाला चल्न सुरु भयो । तर उनले राम्रो उपचार पाएनन् । क्वारेन्टिनमा बसेका अरू पनि बिरामी पर्न थाले ।
२८ जेठमा उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको गेटसम्म छाडियो । ‘अस्पतालले आइसोलेसनमा भर्ना त गर्यो, तर उपचारमा ध्यान दिइएन’ घटनालाई नजिकबाट नियालेका पचु सदा भन्छन् ।
आइसोलेसन अस्पतालमा राखिएका उनलाई खाना त दिइन्थ्यो, तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मी हेर्नसमेत नआएको परिवार र साथीभाइको गुनासो छ ।
राजु यसबीचमा निरन्तर झाडापखाला भएका कारण सिकिस्त हुँदै गए । उनलाई एक पुरिया जीवनजल समेत नदिइएको पचु बताउँछन् ।
सोमबार कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनलाई दिउँसोतिर आकस्मिक कक्षसम्म लगियो । तर धेरै ढिला भइसकेको थियो । साँझ उनको मृत्यु भयो । ‘मेरो छोराको यसरी ज्यान जाने थिएन’ राजुका पिता असे सदा भन्छन्, ‘कोरोना जाँचका नाममा मेरो छोरालाई दिनुसम्म दुःख दिएर मारिएको छ ।’
राजुका काका राजेश्वर भन्छन्, ‘कम्तीमा पखाला लागेको जानकारी समेत हामीलाई दिइएन । थाहा भएको भए हामी आफैँ पनि उपचार गराउँथ्यौं ।’




