सप्तरी, ११ असार । सप्तरीमा बिहीबार बिहान चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जनाइएको छ । जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै चट्याङ् लागेर ज्यान गएको छ । उनीहरु २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर रहेका छन् ।

बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादवको ज्यान गएको हो । त्यस्तै राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ ।




